Monday, November 10, 2014

समयमै अस्पताल पुर्‍याउन पाएको भए !

मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्जका लागि विमान उड्नै लाग्दा एक हुल युवा तन्नाको स्ट्रेचर बनाई विरामी बोकेर जहाजतिर ल्याउँदै थिए। केही प्रहरी तिनलाई विमानस्थल ‘रन वे’ बाट बाहिर निकाल्दै थिए। जहाजको इन्जिन सुरु भइसकेकाले विमान रोकिने अवस्थामा थिएन। जसो तसो गरेर प्रहरीले विरामी ल्याएको हुललाई कुनै दुर्घटना हुनु अगाडि नै ‘रन वे’ बाट बाहिर निकाले। 

उपचारका लागि ल्याइएकी बिरामी मुगु सदरमुकाम गमगढी कि गर्भवती रहिछन्। बच्चा जन्मिने अवस्थामा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि नेपालगन्ज लान त्यहाँ ल्याइएको रहेछ। 

जहाज बिरामी महिलालाई नलिई आकाशमा उड्यो । अघिल्लो जहाजले बिरामी महिला नलगेपछि अर्को जहाजको प्रतिक्षा गर्नुको विकल्प थिएन। संयोगले केही  समयमै अर्को एअरलाइन्सको जहाज आइपुग्यो।

तर यो जहाज पनि पहिल्यै भरिसकेको थियो। बिरामीलाई सीट नपाएपछि सुरु भयो घम्साघम्सी। आक्रोशित बिरामी महिलाका आफन्त, जहाजका कर्मचारी अनि प्रहरी बीचमा केहीबेर ठेलाठेल भयो।

त्यहाँबाट नजिक न अन्य अस्पताल थिए न दुई, तीन दिन हिँडाएर जुम्ला अस्पताल नै पुर्‍याउन सक्ने अवस्था थियो। सडकले भर्खरै जोडिएको मुगुमा बस चढ्न दुई दिन लगाएर कालीकोटको सिमाना पुग्नुपर्छ। सदरमुकाममा केही जीप फाट्फुट्ट देखिए पनि भनेको बेला पाइँदैनन्। भरपर्दो भनेको त्यही जहाज नै हो, मुगुबासीका लागि।

आक्रोशित बिरामीका एक जना आफन्तले सुरक्षाकर्मीलाई नै प्रहार गरे, स्थिति असमान्य बन्यो। आक्रोशमा भएका बिरामीका आफन्त, सुरक्षाकर्मी र दुई दिन कुरेर पनि उड्न नपाएका अन्य यात्रीहरुबीच घम्साघम्सी र पीडामा कराइरहेकी गर्भवती महिला, दृश्य आँफैमा कहालीलाग्दो थियो। त्यसमाथि झन् ती महिलाको रक्तश्राव पनि बढ्न थाल्यो। यी सबै देख्दा मनै रोएर आयो। घटना यति छिटो बदलिरहेका थिए कि तस्विर खिच्न पनि सकिन ।

बल्लतल्ल गर्भवती महिलाका लागि सीटको व्यवस्था भयो।  बिरामी महिला बोकेर जहाज नेपालगन्जतिर उँड्यो। अलिकति भए पनि मनलाई शान्ति मिल्यो। म उकालो लागेँ हामी बस्ने ‘वसन्त लज’ तिर। त्यत्तिकैमा ती महिलासँगै आएका (छिमेकी हुन् क्यारे) ले भने, ‘धन्न पिलेन पाइयो नभए काल कुर्नुको विकल्प रहँदैनथ्यो ।‘ जीउ नै सिरिँङ्ग भयो।

भोलिपल्ट मुगुका पत्रकारहरुसँग भलाकुसारी गर्ने मौका जुर्‍यो। उनीहरुले २०७१ वैशाख यता छ जना महिलाले बच्चा जन्माउन नसकी उपचारको अभावमा ज्यान गुमाएको सुनाए। पत्रकाहरुले आधा जन्मिएको बच्चाको हात काट्नुपरे सम्मका घटना सुनाए, सम्झिँदा मात्र मन मुटु चिरिएर आउने। 

हामी साझा सवाल रेकर्डिङका लागि पहिलोपटक मुगु पुगेका थियौं। जसरी कर्णाली भन्नै बित्तिकै गरिबी, कुपोषित अनुहारको बिम्ब आउँछ, लगभग त्यस्तै समस्यासँग जुधिरहेका रहेछन् मुगुबासीहरु। 
एकातिर हामी राजधानीमा मातृमृत्यु दरमा उदाहरणीय प्रगति गर्‍यौं भनेर नाक फुलाई बसिरहेका छौं, अर्कातिर महिलाहरु बच्चा पाउन नसकि ज्यान गुमाइरहेका रहेछन्। 

साझा सवालकै अनुसन्धानका दौरान भेटिए १८ वर्षीय रवि हमाल। सदरमुकाम गमगढीभन्दा बढीमा आधा घण्टाको दुरीमा उनको घर भए पनि उचित उपचार नपाउदाँ उनकी आमाले ज्यान गुमाउनु परेको थियो।
‘दुई दिन ताल्चा विमानस्थल धाउँदा पनि टिकट नपाएपछि गर्भवती आमालाई डोकोमा हालेर, दुई दिन हिँडेर जुम्ला पुगियो। त्यहाँबाट जहाजमा नेपालगन्ज लाँदालाँदै अत्याधिक रक्तश्राव भएर आफ्नै अगाडि आमाको मृत्यु भयो,’ आँखा भरिलो बनाउँदै उनले भने, ‘बेलैमा उपचार पाएको भए मेरी आमा आज हामी सँगै हुनुहुन्थ्यो।‘

थुप्रै व्यथा छन् मुगुका। 

मुगुको एक हप्ते बसाइमा केही ठाउँ घुम्ने र थुप्रै मानिस भेट्ने मौका मिल्यो। ती मध्यकी एक हुन् कुसुमकला मल्ल। उमेर ५० वर्षको आसपास। वास्तविक उमेर थाहा छैन। कसैले भनिदिए पो थाहा पाउनु !

उनलाई न देशको प्रधानमन्त्रीको नाम थाहा छ न देशमा प्रजातन्त्र आयो कि गणतन्त्र, केही पनि थाहा छैन। छ त केवल कसैले गरिबी हटाइदिए भर पेट खान पाइन्थ्यो कि भन्ने झिनो आशा। तर आजसम्म कसैले केही नगरेकाले पछि होला भन्ने त्यति धेरै भरोसा पनि छैन। 

साझा सवालका लागि पिना गाउँबाट केही घण्टा हिडेर आइपुगेकी उनलाई उपस्थित नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षले भनेका कुराहरु केवल झुटो आश्वासन मात्र लाग्यो। 

ताल्चामा कार्यक्रम सकेर हामी रारातिर उकालो लाग्यौं। रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो। मनमोहक दृश्यले भरिपूर्ण यस तालबारे धेरै सुनेको थिएँ। तर हेर्ने मौका यसैपाली जुर्‍यो। 
उत्साह साथ अगाडि बढियो। मेरो लागि त्यो चार घण्टाको बाटो पनि हिमाल चढे जस्तै भइरहेको थियो। झण्डै ५ वर्ष अघि सगरमाथाको आधार शिविर पुगेपछिको अर्को लामो हिँडाइ थियो यो। 

बाटामा भरिया दाजुभाइका कथा सुन्दै अघि बढ्यो। भरियाहरुका कथा नि बेग्लै। दिनको हजार त कमाउँदा रहेछन्। तर श्रीमती छोराछोरी पाल्नै धौ धौ । खाना त्यस्तै महँगो । मोटरबाटो त आयो तर फरक केही भएन। जहाजले बोकेर ल्याएको सामानको मुल्य र गाडीमा ल्याइएको सामानको मुल्य उस्तै उस्तै छ।

न त अनियमतता गर्नेलाई कारबाही गर्ने सरकारकै उपस्थिति छ न स्थानीय सञ्चारमाध्यमले त्यसलाई राम्ररी उजागर गरेका छन्। 

कुरा गर्दा गर्दै रारा ताल आइपुगियो। ओहो ! राराको सुन्दरता ! छिनछिनमै रंग बदल्ने राराताल। आकाशको रंग अनुसार परिवर्तन हुने यस ताल देखेर जो कोही पनि लठ्ठ परिहाल्छ । 

म पनि कहाँ अछुतो रहन सके र ! तालसँगै रमाउन थालेँ। फोटो खिच्न थालेँ। आहा ! भन्दै चिच्याउन थालेँ, साथीहरुलाई आफ्नो फोटो खिचिदिन आग्रह गर्न थालेँ। 

राराको सुन्दरतामा रमाउँदै गर्दा केही दिन अगाडि ताल्चा विमानस्थलमा भेटिएकी विरामी महिलाको सम्झना आयो। उनको अवस्था के भयो होला भन्ने छट्पटी भइरह्यो। त्यहाँका पत्रकार साथीलाई फोन गर्ने कोशिस पनि नेटवर्कको समस्याले सफल हुन सकेन। 

राराको सुन्दरतामा हराएको मनलाई ती महिलाबाट अलग्याउन गाह्रो भयो। बारम्बार उनी स्मृतिमा आइरहिन्।

जलवायु परिवर्तन सम्बन्धि कार्यक्रमको रारा ताल नजिकै छायाँकन सकेर म र केही साथीहरु मुगुको सदरमुकाम गमगढीतिर लाग्यौं । प्राय: देखिने पहाडी सदरमुकामजस्तै थियो गमगढी पनि । पहिरोको जोखिममा रहेछ । अलि अलि पहिरो जान थालिसकेको रहेछ । तर कसलाई पो चासो होला ! राजनैतिक रंग पनि राम्रै चढेको रहेछ, कर्णालीलाई छुट्टै प्रदेश बनाउनु पर्छ भन्ने र भेरीसँग जोड्नु पर्छ भन्नेका बीचमा मध्यविन्दु खोज्ने प्रयास अझै चलिरहेछ।

स्कूल छन्, शिक्षक छैनन, शिक्षक छन् कक्षा कोठामा जाँदैनन्, अस्पताल छन्, डाक्टर छैनन्, डाक्टर छन् औषधी छैनन्- कुनै तालमेल मिलेको देखिँदैन। हाम्रो सदरमुकाम बसाइ एकदिनको मात्र थियो। गमगढीबाट हामी लाग्यौं खुट्टै काम्ने उकालो हुँदै ताल्चातिर। 

उकालो लाग्दै गर्दा कार्कीबाडा गाउँ कटेपछि माथि डाँडामा एकजना महिलाले केही खोज्दै गरेको देखियो। नजिकै गएर हेर्दा थाहा भयो उनी खेतमा छरिएको धान एकएक दाना गर्दै टिप्दै रहिछिन्। 
नाम हीरामती कामी। उमेर ३५ वर्ष, दुई छोरा एक छोरीका आमा। भारतमा काम गर्दै गरेका श्रीमानको तीन वर्ष अघि मृत्यु भएको। 

‘दैवले पनि गरिबलाई नै पिरल्दो रै’छ,’ उनले भनिन्, ‘कुन्ताको हामी गरिब पेटभरी खान पुग्दैन, त्यसमाथि असोज ८ को असिना पानीले अलि अलि फलेको धान पनि सबै नष्ट पारीदियो।‘ बिहानदेखि धान र भटमास खोज्न बसेकी उनलाई दिउँसो एक बजे भेट्दा मुस्किलले आधा किलो धान र भटमास भेटेकी थिइन्।

‘आफ्नै खेतमा सिला खोज्न पड्दा हुन्,’ उनी अक्मकाइन्, सायद मैले उनको भाषा बुझ्दिन भन्ने ठानिन् र भनिन्, ‘म कसरी पाँलु यी तीन छोरा छोरीलाई, छोरा छोरी पनि टेर्दैनन्, स्कुलमा भर्ना गरिदे’को पढ्न पनि जादैनन्।‘ जाउन् पनि कसरी पेटमा केही छैन।

उनका आँखा भरिएर आए। ‘अलि अलि माइतीले दिन्छन्, अलि अलि यता उति काम गर्छु जसोतसो बाँचेको छु,’ उनले भनिन्, ‘यो असिना पानीपछि त मर्नु न बाँच्नु भ’को छु। राहत पाइन्छ भनेर सदरमुकाम धाएँ। तर फुटेको कौडी पाएको छैन।‘ 

यसपालि बेमौसममा आएको असिना पानीले धेरैको बेहाल बनाएको छ। रारा तालमा गरिएको साझा सवाल रेकर्डिँगका दौरान धेरैले असिना पानीले बाँच्ने आधारनै गुमाएको अनुभव सुनाए। 

मुगुको अर्को समस्या हो बालविवाहको।

मैले भेटेका लगभग सबैको १४/१५ वर्षमा विवाह भएको रहेछ। तिनीहरु मध्येका दुई, संगिता कार्की र रमेश विकको कथा कम पीडादायी छैन। 
संगीता कार्की। उमेर १५ वर्ष। पेटमा तीन महिनाको बच्चा।

झण्डै ६ महिना अघि सुर्खेतका एक युवकसँग ताल्चा विमानस्थलबाट घर आउने क्रममा भेट भएको रहेछ। केटोले संगीतालाई मन परायो। संगीताको घरै आएर विहेको प्रस्ताव राख्यो । राजीखुशीमै विवाह गरे उनीहरुले। एसएलसीको तयारी गरिरहेकी उनको पढाइमा विवाहसँगै पुर्णविराम लाग्यो। 
उनको अवस्था ताल्चा विमानस्थलमा भेटिएकी विरामी महिलाको सम्झना दिलाउने खालको थियो। यसैगरी रहेछ आफै मृत्युको मुखमा होमिने। उमेरनै नपुगी विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउनु पर्दा समस्या हुने नै भयो।

अर्का थिए रमेश विक। उमेर १६ वर्ष। हालसालै विवाह गरेका उनले घरमा काम गर्ने मान्छे नभएपछि विवाह गर्नु परेको बताए।

‘नौ क़क्षामा पढ्दै थिएँ। विवाहसँगै पढाइ नि सकियो। अब काम गर्दै श्रीमती र आमालाई पाल्दै छु,’ उनले भने, ‘थाहा थियो नि यो उमेरमा विवाह गर्न हुन्न भनेर, तर के गर्नु वाध्यता त्यस्तै परो।‘  उनले चाहिँ अहिल्यै बच्चा नजन्माउन परिवार नियोजनको अस्थायी साधन ‘कण्डम’को प्रयोग गर्ने अनुभव सुनाए ।

शिक्षाको अभाव र पुरानो चलनले हुनुहुपर्छ मुगुमा १२/१४/१५ वर्षमै विवाह गर्ने चलन रहेछ। विवाह गरेपछि प्राय: सबैले पढाइ छोड्छन्। नियमित स्वास्थ्य उपचार पनि पाउँदैनन्। अनि कति अकालमै मर्छन्, कति कुपोषित भएर बाँच्नु पर्ने अवस्था छ।

मुगुमा भेटिएका धेरैजसो महिलाको उमेर भएको भन्दा दोब्बर देखिन्छ। खाना र स्वास्थ्य उपचारको अभावमा । बाटामा भेटिएकाहरुसँग कुरा गर्दै हामी ताल्चा विमानस्थल छेउमा रहेको हाम्रो अस्थायी बासस्थानतिर लाग्यौं ।

वसन्त लजमा प्रवेश गर्ने बित्तिकै लजका साहु प्रेम रावलले भने, ‘भाइ, ती अस्तिकी महिला थिइन् नि ! गर्भवती के, तिनी बाँचिछिन्।‘ उनले नेपालगञ्ज अस्पतालमा सकुशल बच्चा जन्माइछिन्। 

मैले लामो स्वास फेरेँ। राराको सुन्दरता समेत विचलित गरेको मनको आँधी शान्त भयो। दैवले तिनको ज्यान बचाए। अनि सम्झिएँ, रविलाई। समयमै उनकी आमालाई अस्पताल पुर्‍याउन पाएको भए !

Saturday, May 3, 2014

Landing at the World's Dangerous Airport





This is Lukla - the gateway to world's highest peak Sagarmatha also known as Mount Everest.

This is one of the world's dangerous airport - because of its geography, uniqueness in - landing and take off.


For us it was not easy to land in Lukla - it has a very fluctuating weather as it changes in a minute leaving airport close - we had to try for the second attempt to land in Lukla.

In the first attempt after waiting for five hours we got in the flight - but had to come back after flying for 15 minutes as weather went worse resulting into closure of Lukla airport - it really was a scary moment.

The second try was smooth - we did it the following morning - early morning flights are more likely to land in Lukla.

Despite of the thrill once you land in Lukla - you will have a different moment - you forget all the adventure and scary moments and become busy experiencing the beauty of high snowy peak mountain and a cool weather - beautiful surroundings and welcoming people.